हामी अहिले कलियुगमा छौँ । कलिको धर्म नै हो कलह हो । पृथ्वीको संरचना ज्यादै पुरानो छ । युग चार वटा छन् । सत्य, त्रेता, द्दापर र कलि । कलिको आरम्भ भएको ५ हजार १२६ वर्ष भयो, यसको पूर्णायु ४ लाख ३२ हजार वर्षको हो । मानव जीवन बाल्यकाल सत्ययुग हो, शिक्षा आर्जनको समय त्रेता हो, शिक्षा, ज्ञान र अनुभवको प्रयोगको समय द्दापर हो र प्राप्त ज्ञान र सिपको कर्मलाई धर्मको रुपमा प्रयोग गर्ने समय कलि हो । कलिले कलहको संकेत त द्दापरको अन्त्यदेखि नै गरिसकेको हो । अर्को कुरा हरेक दिन बिहानी हाम्रो सत्ययुग हो, सूचना, शिक्षा शुरु हुँदै त्यसको कार्यरुपमा परिणत गराउने समय दिउसो त्रेता द्दापर हो र रात्रिको समय कलि हो । कुकर्म हुँदा भने दिउसो नै रात हुन्छ ।
भागवतमा कलिको वर्णन भविष्यत्कालमा गरिएको छ । विद्धताको परीक्षण भागवतबाटै हुन्छ पनि भनिएको छ । वेदव्यासले भागवत लगायत पूर्वीय तमाम शास्त्रको रचना गरे । पराशरपुत्र हुन् ती र उनको जन्म हाम्रो तनहूँ, दमौलीस्थित सेती र मादी नदी सङ्गमा भएको हो, आमाको नाम मत्स्यगन्धा एक माझीबाट संरक्षित थिइन् उनी । व्यासजी त्रिकालदर्शी र खरो भविष्यवक्ता थिए । उनले भागवत द्दादशस्कन्ध अध्याय २, श्लोक २ मा यस्तो लेखेः वित्तमेव कलौ नृणां जन्माचारगुणोदयः । धर्मन्यायव्यवस्थायां कारणं वलमेव हि ।। अर्थात् कलिमा वित्तको साह्रै ठूलो महत्व हुन्छ, जो धनी छ, कुलीन भन्छ आफुलाई उही सदाचारी र गुणी मानिन्छ । धर्म, न्याय, तमाम प्रणालीहरु बलको भरमा प्रयोग हुन्छन् । मानिस स्वयम्भू सम्झिन्छ आफुलाई, पद र प्रतिष्ठा नै सर्वोपरि हुन्छ । धर्मको व्यापार हुन्छ, नीति, नैतिकता र इमान्दारिताको छद्म प्रयोग हुन्छ । मानिसलाई भरणपोषण नै ठूलो कुरो बन्छ र जन्म दिने पिता माता बा बाटो देखाउने गुरुहरुप्रति नै घोर निन्दा गरिन्छ, वृद्धाश्रमको खोजी बा अपहेलित बन्नेछन् ती, आफ्नै स्वजनबाट पनि । दाक्षं कुटुम्बभरणं अर्थात् मानिसको दक्षता भनेको आफुआफ्नैलागि मान, प्रतिष्ठा, गौरव बढाउने र धनार्जनको मौका दिलाउने हो ।
द्दापरयुगको अन्त्यसंगै घोर कलि युगको आरम्भ हुने, आफुनो १२५ वर्षको समय पूरा भइसकेको अब कलिका स्वघोषित राजामहाराजाहरुले पृथ्वीलाई मेरो भन्नेछन् भन्दै द्दापरका मुख्य नायक श्रीकृष्ण स्वधाम गमनसंगै कलिले आफुनो प्रभाव बढी पैmलाउन थालेको हो । पृथ्वीमा जरासन्धका बाबु वृहद्रथको वंशमा अन्तिम राजा रहे पुरञ्जय, उनले तमाम रिपुहरुमाथि विजय पाएकाले नाम रह्यो रिपुञ्जय । उनका मन्त्री थिए शुनक, राजालाई मारेर आफ्नै छोरा प्रद्योतलाई राजा बनाए उनले । पछि चाणक्यले नन्दको बाँकी वंशलाई सकेर चन्द्रगुप्तर्मौर्यलाई राजा बनाए । पछि यबन, तुर्क अन्य धेरै राजाहरुबाट राज्य गरियो । कलिमा हुने दुष्ट शासकहरुको इतिवृत्त वर्णन छ भागवतमा । युद्ध र अशान्तिका बादलहरु मडारिनु कलिको धर्म नै हुने भयो, विश्वयुद्ध हाम्रो अनुभव भयो भने शान्ति स्थापनार्थ आएको संयुक्त राष्टृसंघ पछि पनि युद्धका बादलहरु मडारिएकै छन्, पछिल्लो समय रसिया युक्रेन, हाल इरान इजरायल के के हामीले भोगिरहेका छौँ, हाम्रोमा भन्नै परेन, थाहा छ र संसारको यो अधैर्यले हाम्रो चुलो चौकामा समस्या छ ।
भागवतले भनेको छ, कलिमा उपकार र सेवा नाम मात्रको हुन्छ, समाजसेवा स्वार्थवस् हुन्छ, मठ, मन्दिरहरु थरथर काँप्न थाल्छन् वेदलाई बिक्रीमा राखिन्छ, शुद्ध पिउने पानीको चरम अभाव हुन्छ, पानी र अन्नकै लागि ठूलो संघर्ष हुन्छ युद्ध नै छेडिन्छ । मानिसहरु दुराचारी, लोभी, कठोर हिर्दयका, हत्या हिँसामा रत हुनेछ्न् । शुद्ध व्यापार, सेवाको व्यापार नभएर कमिसन, घूसघोरी, तस्करहरुको बाहुल्यता रहन्छ र शास्त्रीय मर्यादा नीतिले कमाऊ, रीतिले बाँच र प्रीतिले बाँच्न देऊ भन्ने मान्यताले प्रश्रय पाउँदैन । राज्यहरुले सुशासनको नारा लिएर ठूलै मञ्चन गर्छन् नाटकको र तर देखावटी मात्रै हुन्छ, वातावरण, पर्यावरण रक्षा हुन्न, यत्रतत्र प्रदूषित र विषाक्त हुन्छ परिवेश । मनिसको बध सामान्य बन्छ, दया, माया, प्रेम जस्ता शब्दहरु शब्दकोषमा सिमित हुन्छन् । निसाफ हराउँछ जसको शक्ति उसको भक्ति हुनेछ । भूमिमाथि करको वृद्धि हुन्छ, आर्जनका बाटाहरु खोल्ने क्रममा गरिव मानिस निरिह हुन्छ र उसको सुनुवाइ नै हुन्न कतै ।
व्यासप्रणित भागवतमा १२ स्कन्ध, ३३५ अध्याय, १८ हजार श्लोकहरु छन् र यसले मानव जीवनमा हुनु पर्ने भक्तिको उजागर गरेको छ । भक्तिमा असिम शक्ति हुन्छ, त्यो ऊर्जाले मानिसलाई जीउन सिकाउँछ । भागवत जीउने कला हो, यसमा ज्ञान छ, विज्ञान पनि । बाह्रौँ स्कन्धले कलिकेो विशेष चर्चा गरेको छ भने एकादशस्कन्ध हाम्रो मन हो ईश्वरको पनि । यो चलायमान बढी छ । यदुबंशका अनिरुद्धपुत्र बज्रलाई राजपाठ दिइएको प्रसंग र भक्तियोगको इतिवृत्त चर्चा हुँदै यो स्कन्धले विश्राम लिन्छ, भागवत कहिल्यै समापन हुन्न, जहिले आरम्भ मात्रै हुन्छ । भागवत भक्ति हो भने सप्तशती ७ सय श्लोकको चण्डी, शक्ति हो, ऊर्जाहो र भोग्य विषयहरुको तमाम प्राप्तिको सुमार्ग हो । यति नै श्लोक रहेको श्रीमद्भगवतगीता भने मुक्ति हो भवसागरको । जन्म मृत्यु निरन्तर प्रक्रिया हो, यो काल अर्थात् समयको अधिनमा छ र यम भनौँ कालले आपूmमा त्यो शक्ति दिन पहिले शिवजीको कठोर साधना गरेर त्यो माग पूर्ति भएको हो । हामी कालका अधिनमा छौँ र शिवजी कालातीत छन् ।
हाम्रो भूमि स्वर्गमा रहने देवताहरुको बासस्थान हो, हामीले नै धर्म गुमायौँ भने संसारमा कतै धर्म बाँकी रहन्न । तमाम ऋषि महर्षिहरु जसले वैदिक वाँग्मयको रचना गर्यो, खोज अनुसन्धान गर्यो, आपूmले केही खाएन, लिएन, रुखका बोक्रा लगायो र भविष्यको सन्ततिलाई अपार ज्ञानको भण्डार छोडेर गयो र त्यसमा हामी अनकौँ टिका टिप्पणी गर्ने भएका छौँ । ज्ञानको सागरमा हामी पुगेकै छैनौँ र हामी विज्ञान भन्दै मात्तिएका छौँ । विज्ञान हिजो अस्ति मात्रै आएको हो, यद्यपि प्रशंसा जरुरी छ किनकि हामीलाई यसले सुविधा सम्पन्न गराएको छ । विज्ञान भन्नु मानव मस्तिष्कको उपज हो, यसको सदुपयोग गर्न सकेन भने यो हामीलाई अभिशाप हुन्छ जुन भइरहेका हरेक दिनका घटनाहरुबाट पनि स्पष्टै हुन्छ ।
हामीले सत्कर्मबाट सत्ययुग ल्याउन सक्छौँ, कर्ममा धर्म भए हाम्रै परिवेश सत्य नै हुन्छ । त्यसका लागि साधु बा सन्यासी हुन पर्ने होइन, सज्जन बने पुग्छ, जो न्यास भनौँ निष्ठामा रहन्छ त्यो सन्यासी हो, भेष कुनै धर्म होइन, आचरण हो, हामी गृहस्थ सन्यासी हुन सक्छौँ । ईश्वरले भनेको छ “अहँ सर्वेषु भूतेषु” । ऊ अदृश्य छ, द्दापरसम्म दृश्य नै थियो, ईश्वरको शब्द छ “हे मानव म मैले बनाएको घरमा बस्छु, तिमीले बनाएको घरमा बस्न बाध्य छैन । मैले बनाएको घर भनेको तिमी नै हौ र तिम्रै शरिर हो” । तिमीले बनाएको मठ मन्दिरमा व्यापार गरेर बा त्यहाँ धाएर मात्रै धर्म हुने होइन, शरिर नै मन्दिर हो र यसमा रहेको आत्मा नै परमात्मा हो । एक मानवले अर्को मावमा सद्भाव नै धर्मको लक्षण हो र सबै प्राणीप्रतिको दया नै ईश्वर भक्ति हो । जव हामी दया गछौँ अरुलाई ईश्वरले हामीलाई याद गर्छ, उसले याद गर्दा नै तमाम लक्ष्य पूरा हुन्छ । हाम्रो लक्ष्य भनेको चार मूल धर्म, अर्थ, काम र मोक्ष हो । अतः वैदिक सनातनीहरुले आपु्mनो विगत, वर्तमान र भविष्यलाई स्मरण गनु पर्ने हुन्छ । सिद्धान्त दुई छन् चार्बाक् सिद्धान्त पनि सिद्धान्तै हो । शवमा बगली हुन्न, अतः हरेक दिन सकेको पुण्यकर्म गरेर समय बिताऊँ यो आलेखको मूल आशय, यो युग नयाँ होइन अट्ठाइसौँ हो, यहाँ धेरैले मेरो मेरो भने तर नाँङ्गै गए सबै !


















