हिमालमा जलवायु परिवर्तन तथा भोटेकोशी-त्रिशूली विपद्को अध्ययन गर्न गठित संसदीय विशेष समितिको पहिलो बैठक आज बस्दैछ। सिंहदरबारमा बस्ने बैठकले समितिको सभापति चयन गर्नेछ।
सभापतिका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश पराजुलीको एकल उम्मेदवारी परेको छ। उनको प्रस्तावकमा मोहन आचार्य तथा समर्थकमा निशा डाँगी, पुष्पराज कँडेल, रमेशकुमार मल्ल, ध्रुव राई र सरस्वती लामा छन्। त्यसैले आजको बैठकबाट पराजुली सभापतिमा निर्विरोध चयन भएको घोषणा हुने तयारी छ। असोज ५ गते गठन भएको १५ सदस्यीय समितिलाई हिमाली क्षेत्रमा जलवायु परिवर्तनको प्रभावदेखि भोटेकोशी-त्रिशूली विपद्को कारण र प्रभावसम्म अध्ययन गर्ने जिम्मेवारी दिइएको छ। समितिले हिमाली तापक्रम, हिमपात, हिमनदी, हिमताल र जलाधारमा भइरहेको परिवर्तन तथा त्यसबाट सिर्जित जोखिमसम्बन्धी अध्ययन र तथ्यांकको समीक्षा गर्नेछ। साथै वैज्ञानिक अनुसन्धान, नियमित अनुगमन र पूर्वचेतावनी प्रणालीमा देखिएका कमजोरी पहिचान गरी सुधारका उपाय सुझाउनेछ। भोटेकोशी-त्रिशूली विपद्को हकमा घटनाको उत्पत्ति, तत्काल कारण, जोखिम बढाउने कारक, जलवायु परिवर्तनसँगको सम्भावित सम्बन्ध तथा सीमापार जलाधारको प्रभावबारे अध्ययन गर्ने कार्यादेश समितिलाई छ।
त्यस्तै, खोज तथा उद्धार, बेपत्ता नागरिकको अवस्था, राहत वितरण, अस्थायी बसोबास, आधारभूत सेवा र प्रभावितको जीविकोपार्जन पुनर्स्थापनाको समेत समीक्षा गरिनेछ। प्रभावित नागरिकका लागि तत्काल र मध्यमकालीन सुधारका उपाय तथा दिगो र सुरक्षित पुनर्निर्माणको मार्गचित्र सिफारिस गर्ने जिम्मेवारी पनि समितिलाई दिइएको छ। समितिले विपद् जोखिम न्यूनीकरण, पूर्वचेतावनी प्रणाली, जलवायु कूटनीति, सीमापार सहकार्य तथा आवश्यक कानुनी र संस्थागत सुधारबारे समेत सरकारलाई सुझाव दिनेछ।




















