प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारको स्वरूप र कार्यशैलीलाई लिएर बिहीबार प्रतिनिधिसभामा सत्तापक्ष र प्रतिपक्षबीच सवालजवाफ भएको छ। बैठकमा एमाले सांसद लक्ष्मीप्रसाद पोखरेलले बालेन सरकारलाई कहिले संवैधानिक, कहिले निर्दलीय र कहिले एकदलीय सरकारजस्तो देखिएको टिप्पणी गरे। आफ्नै दलको बैठकमा नजाने र सर्वदलीय बैठकसमेत नगर्ने भन्दै उनले सरकारको कार्यशैलीमाथि प्रश्न उठाए।
उनले सरकारलाई ‘भूमिगत गिरोहबाट चल्ने पञ्चायती शैली’ र राष्ट्रपतिलाई नजरअन्दाज गर्ने ‘श्री ३ महाराज’ जस्तो देखिएको टिप्पणी गर्दै प्रश्न गरे, ‘खासमा बालेन सरकार कस्तो सरकार हो ?’ पोखरेलको प्रश्नको जवाफ दिँदै सत्तारुढ रास्वपाका सांसद सन्तोष राजवंशीले बालेन सरकारलाई जनताको जनमतबाट अनुमोदित र संसद्को बहुमत प्राप्त सरकारका रूपमा व्याख्या गरे।
उनले २१ फागुन २०८२ को निर्वाचन नियमित राजनीतिक क्रमको निरन्तरता नभई ‘क्रमभंगता’का रूपमा नयाँ सरकार आएको दाबी गरे। राजवंशीले बालेन सरकार भ्रष्टाचार न्यूनीकरणमा केन्द्रित रहेको बताए। ‘देशलाई कमजोर पार्ने जुनसुकै संयन्त्र होस्-न्यायालय, कर्मचारी संयन्त्र वा राजनीतिक संयन्त्र-सबैलाई सुन्ने र थुन्ने सरकार हो,’ उनले भने। विगतमा भ्रष्टाचारमा संलग्न भएकाहरूमाथि सरकारले कानुनी कारबाही अघि बढाउने पनि उनले दोहोर्याए।


















