मधेस प्रदेशसभा तोडफोड तथा लाठीचार्जसम्बन्धमा छानबिन गर्ने सहमति

सप्तरीको राजविराजमा कृषि विश्व विद्यालयको भवन शिलान्यासको क्रममा गत ८ माघ २०८० मा भएको घटना मधेश प्रदेशसभाको प्रदेश मामिला समितिले छानबिन गर्ने भएको छ । मधेस प्रदेश सभा तोडफोड र सांसदमाथि लाठीचार्जको उक्त घटनामा जनमत पार्टीका सांसदहरूको मागअनुसार सोमबार सत्ता पक्ष प्रदेश मामिला समितिबाट छानबिन गर्ने सहमति भएको हो ।

उपेन्द्र यादवले उक्त भवनको शिलान्यास गरेको कार्यक्रममा जनमत पार्टीका कार्यकर्ताले विरोध जनाउँदा तत्कालिन शिक्षामन्त्री तथा जनमतका सांसद महेशप्रसाद यादवमाथि प्रहरीले बल प्रयोग गरेको थियो । जनमत पार्टीले उक्त घटनाको संसदीय छानबिन गर्न माग गर्दै आएको थियो ।

सोमबारको प्रदेश सभा बैठकमा पनि जनमत पार्टीका सांसदहरूले यो विषय छानबिन समितिले हेर्नुपर्ने बताएका थिए । सप्तरीको राजबिराज कृषि विश्वविद्यालय शिलान्यासका क्रममा जनमत पार्टीका तत्कालीन मन्त्री तथा सांसद र प्रहरीबीच झडप भएको थियो ।

मधेसमा जसपा नेपालका सरोजकुमार यादव मुख्यमन्त्री छन् । आजै बसेको प्रदेश सभाको पहिलो बैठक जनमत पार्टीका सांसदहरूको अवरोधपछि स्थगित भएको थियो । प्रदेश मामिला समितिले छानबिन गर्ने सहमतिपछि प्रदेश सभाको दोस्रो बैठक सोमबार अपराह्नमा भएको थियो । प्रदेश सभामा देखिएको गतिरोध अन्त्य गर्नका लागि सत्तापक्ष र विपक्षीबीच छलफल पनि भएको थियो ।

सो छलफलमा राजविराजको घटनासँगै गत वैशाख ४ गते जनमत पार्टीका सांसदहरुले प्रदेश सभामा गरेको तोडफोडको घटना प्रदेश मामिला समितिले छानबिन गर्ने सहमति जुटेको हो ।

सोमबार बसेको मधेश प्रदेशसभाको तेस्रो अधिवेशनको पहिलो बैठक पनि जनमतले अवरुद्ध गरेपछि सभामुखले १० मिनेटको लागि स्थगित गरेका थिए । त्यसपछि दुबै घटनाको छानबिन प्रदेश मामिला समिति मार्फत गर्न दलहरु सहमत भएका छन् । यो संगै मधेश प्रदेश सभाको गतिरोध हटेको छ । मधेश प्रदेशसभामा एकीकृत समाजवादीका नेता रत्नेश्वर गोइत सभापति रहेको प्रदेश मामिला समिति छ । यो समितिमा कुनै दलको प्रतिनिधि नरहेमा समावेश गरिने सभामुख मण्डलले बताए ।