संस्मरण
बिहेका हराउँदै गएका चलन
प्राडा तीर्थप्रसाद मिश्र
बूढा मरे भाषा सरे भन्ने र कुरा सुन्नु बूढाको आगो ताप्नु मुढाको भन्ने उखान अब सान्दर्भिक छैन । उहिलेका कुरा खुइलिए भन्ने नयाँ पुस्ता तयार भइसके । श्रुति परम्पराबाट ह्रास भई सुनेका कुरा पुस्तान्तरण हुने अबको स्थिति छैन । सर्वाधिक मान्य र पवित्र मानिएको ग्रन्थ वेद श्रुति परम्पराबाटै आएको भन्ने कुरा विश्वास नगर्नेहको पनि ठूलै जमात छ । यस स्थितिमा हामी जस्ता बूढाहरूको कुरा सुन्ने कोही छैनन् । आफूले देखेका भोगेका कुरा लेख्दा कुनै न कुनै समय कसै न कसैलाई खुराक मिल्न सक्छ । हामीले आफ्नो अनुभव भविष्यका पुस्तालाई चित्त बुझे पनि नबुझे पनि सुनाउनै पर्छ, जुन हाम्रो कर्तव्य पनि हो । यसैकारण यो संस्मरण पाठकसमक्ष प्रस्तुत गर्ने दृष्टता गरेको छु । बिहेको चलन, परम्परा, संस्कार र पद्धति ठाउँठाउँका बेग्लाबेग्लै प्रकृतिका हुन्छन् । त्यसमा पनि पद्धति चाहिँ विवाहको प्रकार अनुसार हुन्छ । समाजमा हिजोदेखि अनेकौं प्रकारका विवाहवारी हुने गरेका छन्, यो संस्मरण नेपालको पूर्वी पहाडमा मागी विवाहमा ब्राह्मण वर्गमा हुने तात्कालीन चलनको केही प्रसङ्ग मात्र उल्लेख छन् । साथै यी मेरा व्यक्तिगत धारणा मात्र हुन् ।
मानव समाजमा विवाह एक पवित्र पारिवारिक गठबन्धन हो, जीवन र जगतको सृष्टि हो । स्त्री र पुरुष बीच पतिपत्नीको सम्बन्ध गराउने धार्मिक एवं सामाजिक कार्य हो । मानव जातिको चाहना र आवश्यकता हो । बिहे अरु यस्तै उस्तै धेरै कुरा हो । विवाहको प्रचलन कहिलेदेखि सुरु भयो होला, यकिन छैन । हाम्रा पुराणहरूमा सृष्टिको आरम्भ स्वयम्भूवमनुको पालादेखि ब्रह्माद्वारा यो संस्कार प्रारम्भ भएको भन्ने छ, के हो कसो हो रु यहाँ त विगतका बिहाबारीको चलनको स्मरण मात्र खोजिएको हो । यस्ता कति चलन हराउँदै गएका छन् । कतिमा परिमार्जन र थपथाप हुँदै अन्यत्रको प्रभाव पनि भित्रदै छ । विगतमा विवाहलाई धार्मिक अनुष्ठान वा संस्कारका रुपमा लिइने गरिन्थ्यो भने अहिल भेटघाटरमिलन, भोजभतेर, उत्सव, रमाइलो वा पारिवारिक र सामाजिक जमघट जस्ता कुराले प्राथमिकता पाउन थालेको छ । ठीकै हो, मौसम अनुसारको ट्युनिक हुनै पर्दछ ।
विगतमा छोराछोरीको विवाह गराइदिनु बाबुआमा वा अभिभावकको कर्तव्य, दायित्व, चुनौती र अवसरका रूपमा थियो । हाम्रो पालामा १०१२ वर्ष उमेर पुगेपछि नै परिवारमा विवाहको सकस सुरु हुन्थ्यो । हाम्रा बाआमाको बेलामा यस विषयले त्यति उमेर पनि पुग्न पाउँदैन थियो । आफन्तमार्फत वरवधू खोज्ने चलन थियो । वरवधू खोज्दा घरपरिवारको स्थिति, कति छोरा कति छोरी, कति घरबारी, कति मानामुरी बिउ लाग्ने खेत, चौपाया कति, आँगनमा मकैको कुन्यौँ कस्तो र कत्रो, माइती मावलीको गोत्र के हो जस्ता कुरा खोजखबर अनुसन्धान हुन्थ्यो । पढाइ र जागिरले प्राथमिकता कमै पाउँथ्यो । साधारण पढाइ लेखाइ चाहिँ न्यूनतम आवश्यकता थियो भने पढ्दै गरेको छ भने त पण्डित हुन आटेको छ भन्ने चलन थियो । वरवधूको चलनमा लमीको ठूलो भूमिका हुन्थ्यो । लमीकै कारण कतिको बिचल्ली भएका दृटान्त पनि छन् । आफ्नै मानिसको भरपर्दा छोरीचेलीको बिचल्ली भएका धेरै घटना देखिएकै हुन् । हुन त धोका सबैले आफ्नैबाट पाउँछन् भन्ने पनि हेक्का राख्नै पर्ने कुरा हो । अहिलेको स्थितिमा परिवर्तन आएको छ । केटाकेटीकै स्वेच्छामा ९०प्रतिशत जति विवाह हुने गरेको देखिन्छ मात्र १०प्रतिशत विवाहमा अभिभावकहरूको भूमिका रहन्छ । विगतमा भन्दा ठीक विपरीत अवस्था सिर्जना भएको छ । केटाकेटीको आनीबानी बुझ्न आफन्त नै जासुस झैँ सम्बन्धित घरमा पाहुना लाग्न जाने चलन पनि थियो । केटाकेटीका अभिभावकलाई चित्त बुझेपछि जुराउने काम गरिन्थ्यो । यसरी जुराउँदा ज्योतिष वा जान्नेकै ठूलो हात हुन्थ्यो । यदि वरवधूको विवाह जुरेन भने जुर्ने गरी चुरो फुकाउने काम पनि ज्योतिषबाटै हुन्थ्यो । जुराउने कुरा त आज दन्त्यकथा झैँ भएको छ । चित्त बुझेपछि केटी माग्न जाने भनेर कन्यार्थी उम्मेदवारकै घरमा पुग्ने गर्दथे । छोरी दिन पनि हुनेवाला कुटुम्बकै घरमा जाने चलन थियो । यसरी अभिभावक बीच कुरा मिलेपछि दुईचार जना भद्रभलादमी र आफन्तको उपस्थितिमा छोरीका पिताले जनै सुपारी दिने र छोराका पिताले स्वीकार गर्ने गरिन्थ्यो । तत्पश्चात् बिहे पक्का भएको ठानिन्थ्यो । अहिलेको जस्तो दाम राख्ने, फूलमाला गर्ने, कुरा छिन्ने वा टिकोटालो गर्ने चलन कमै मात्र थियो । कुरा छिन्दा केटाकेटीको उपस्थिति अनिवार्य थिएन । कतिले कुरा छिनिसकेपछि पनि जनैसुपारी फिर्ता गरी विवाहको प्रस्ताव मन्जुर नभएको जानकारी गराएका पनि यदाकदा घटना सुन्नमा आउँथे ।
कुरा छिन्दा वा अठोट लाग्दा विवाह कुन महिना, बार र लगनमा गर्ने छलफल हुन्थ्यो । विवाहका लागि वैशाख, ज्येष्ठ, आषाढ, मार्ग, माघ र फागुन गरी यी ६ महिनामा लग्नहरू हुन्थे । यद्यपि यही चलन छँदै छ । तर, त्यतिबेला हाम्रा गाउँघरमा माघ तथा फागुन महिनाका रात्रि लगनलाई प्राथमिकता दिइन्थ्यो । यस्तो हुनुमा तत्कालीन सामाजिक परिस्थिति प्रमुख कारण थियो । माघ फागुन महिनामा खेतीपातीको काम कम हुने हुँदा सबैको फुर्सद हुन्थ्यो । रातिको लगन हुँदा केटी पक्षको समाजमा दिउँसो घरायसी काममा व्यस्त हुनुपर्ने बाध्यता हुँदा राति भेला भर्इ बिहेमा सहभागी हुन सहज हुन्थ्यो । पर्दाका जन्ती मर्दाका मलामी भन्ने चलन नै थियो । गाउँघरमा बिहाबारी हुँदा सबैले आआफ्नो गच्छेअनुसार सहयोग गर्ने चलन थियो । बिहे घरमा पात गाँस्ने, चिउरा कुट्ने, सेल अनरसा आदि पकाउने र कसार बाट्नेको चटारो हुन्थ्यो ।
केटा पक्षबाट वधूको घरमा बिहेको लगन लेखाई कन्यादानको समय निर्धारण गरेर पत्र पठाइन्थ्यो । यो पत्र पठाउनु भनेको बिहेको समय निश्चित गरी नान्यमुखी गर्ने दिनसमेत निर्धारण गरी सोको जनाउ दिनु हुन्थ्यो । वर र वधू दुवैतिर नान्यमुखी सकेसम्म एकै दिन गर्नुपर्छ भन्ने मान्यता थियो । यही पत्र पठाउने चलन आजकल शाहीपाटो भएको छ । वास्तवमा राजा महाराजाले पठाउने पत्र शाहीपत्र अपभ्रंश भर्इ अहिले शाहीपाटो हुन गएको प्रतीत हुन्छ । यस्ता पत्रका साथमा फलफूल, मिठाई तथा अन्य उपहार पनि हुने गर्दथे ।
विवाहको मिति निश्चित भएपछि गाउँघरमा सुपारी पठाई निम्तो बाँड्ने गरिन्थ्यो । भने टाढाका इष्टमित्र, आफन्त तथा कुटुम्बहरूलाई चिठी पठाइन्थ्यो । यही निमन्त्रणा गर्ने विधिको परिस्कृत रूप हो हालको विवाहमा निमन्त्रणा कार्डद्वारा निम्ता पठाउने तरिका । वरवधूका अभिभावकहरूले सबैलाई भेटेर निमन्त्रणा गर्न नसक्ने स्थिति भएको कारणबाट पत्र वा कार्ड पठाउने चलन चलेको हुनुपर्छ । आजकल त बिहेको खबर मुखले मात्र गरेका छन् तर कार्ड पठाएकै छैनन् भन्ने गुनासो गरेको सुनिन्छ । यस्तो हुनुको मूल कारण विगतको अवस्था नबुझ्नु नै हो ।
विवाहमा निम्ता गरेपछि जन्त जानैपर्ने, कन्याको भए गोडधुवा दिन पुग्नैपर्ने आम बुझाइ थियो । यसरी विवाह गर्दा धेरै टाढाको बाटो एकदिनभन्दा बढी लाग्ने भएको खण्डमा कुम्लेबिहे गर्ने चलन थियो । कुम्ले भनेको दुई चारजना आफन्त मात्र गएर विवाह सम्पन्न गरी वधू लिएर आउने भन्ने अर्थ हो । नत्र भने जन्तीको लर्को लगाई पन्चेबाजा अगाडि लगाई दुलहालाई घोडा वा पालकी वा ओलिनकाठमा चढाई लैजाने चलन थियो । बाजा बजाउन दमाईहरूको व्यवस्था पहिले नै गरिन्थ्यो । यी पन्चेबाजा बजेपछि गाउँमा रौनक नै अर्कै हुन्थ्यो । नरसिङ्गा धुतुरू, कर्नाल, ढोलक, दमाहा, झ्याम्टा, सहनार्इ, ट्याम्को जस्ता लोकबाजा हुन्थे । नरसिङ्गा कर्नाल जस्ता बाजा चाहिँ डाँडाको टुप्पोमा पुगेपछि टाढा टाढा सुनिने गरी बजाइन्थ्यो । यसरी जन्ती जानेमा महिलाहरू चाहिँ कमै समावेश हुन्थे । बिहेघरबाट जन्ती हिँडेपछि गाउँका र आफन्त महिलाहरूले रत्यौली गरी रमाइलो गर्थे । रत्यौलीमा पुरुषहरूको सहभागिता सर्वथा वर्जित थियो । स्त्री जातिको स्वेच्छाको प्रयोजनले नै यस्ता कार्यक्रम गरिन्थे । महिलाले एक आपसमा हँसाउने अनेक तुक र नानाथरिका भाँती हुन्थे । रतिरागात्मक गीत गाउने महिलाले पुरुषकै वेषभूशामा अनेकौं रूप देखाउने गरिन्थ्यो । वास्तवमा यो रत्यौलीले त्यसबेलाको समाजमा महिलाहरूले बन्धनमुक्त भई स्वेच्छापूर्वक नाचगानमा सरिक हुने अवसरका रुपमा लिने गरेका थिए ।
विवाह घरमा जन्ती पुग्नुभन्दा अगाडि नै कन्यापक्षले जन्तीको स्वागत सत्कारको बन्दोबस्त गर्ने सघाउ पुगोस् भन्ने हेतुले भतखराउ पठाउने गरिन्थ्यो । भतखराउमा चार पाँचजना पुरुष अझै कुरा गर्न सिपालु व्यक्ति छानेर पठाइन्थ्यो । ती भतखराउ उपर कन्यापक्षले अनेक छेडखानी व्यङ्ग्य गर्ने गर्दथे । आसनका लागि मान्द्रोमाथि राडी गलैँचा राखिएको हुन्थ्यो । गुन्द्रीमुनि तोरीका गेडा राखिएको हुन्थ्यो ताकि भतखराउ राडीमाथि बस्न खोज्दा चिप्लिएको मज्जा हेर्न पाइयोस् । यसैगरी कसारभित्र कपास राखेर दिने, चियामा नुन हाल्ने, अचारमा चिनी मिसाउने तथा केराको गानालाई हुक्का बनाएर दिने जस्ता अनेक उटपट्याङ कार्य हुन्थे । ती भतखराउ पनि के कम हुन्थे र १ अनेक उपद्रो गरेर मनोरञ्जन प्रदान गर्थे र जाँची बुझी काम गर्थे । दुवै पक्ष बीच एकले अर्कालाई उल्लीबिल्ली बनाएपछि भने गच्छेअनुसार राम्रै स्वागत पाउँथे भतखराउले । उनीहरूले जन्तीको सङ्ख्या, त्यसमा धोती फेरेर खाने, टोपी फुकालेर खाने, लुगासँगै खाने, आफैं पकाएर खाने तथा बाजा बजाउने गरी कुल सङ्ख्या बताउँथे । सोहीअनुसार सबैको कुराको तयारी हुने गर्दथ्यो । कतिपय अवस्थामा भतखराउमाथि गरिने व्यवहारबाट रडाको मच्चिन्थ्यो । तर, सामान्यतया यसलाई मनोरञ्जन अन्तर्गत नै राखेर हेरिन्थ्यो ।
भतखराउले कन्याको घरमा भएको तयारी बरबन्दोबस्तको जानकारी गराएपछि फुर्तीका साथ बाजा बजाऊन् भन्नाको खातिर _बाजा बजाउनेहरूलाई रुद्रजल खुवाउने गरिन्थ्यो । यसपछि त बाजेहरूले बाजाको साथमा थरिथरिका नाच देखाउँदै दुलहीको घरआँगनमा पुगिन्थ्यो । जन्ती पुगेपछि सबैलाई आसन ग्रहण गराइन्थ्यो । मेच, खाट, परालमाथि राडीलगायतका आसन ओच्छ्याई सम्मान गरिन्थ्यो । यसपछि जन्ती पर्सने काम हुन्थ्यो । जन्ती पर्सने भनेको जन्तीलाई गरिने स्वागत सम्मान हो । सबैलाई टीका लगाउँदा समय लाग्ने हुँदा चन्दन अक्षता र फूलले टाढाबाट पर्सिएर नै गरिन्थ्यो । यसै कार्यमा रमाइलोको लागि रङ पनि फालिने हुँदा दुलहालाई त्यतिबेला छाता ओडाउने गरिन्थ्यो । पहिले पहिले स्वयंवर गर्ने प्रथा थिएन, यो त पछि चलेको चलन हो भन्ने भनाइ छ । आजकल त स्वयंवरले धेरै प्राथमिकता पाउन थालेको छ । अन्य पद्धति छोटकरीमा भए पनि स्वयवर कार्यक्रमलाई प्रशस्त समय दिइने गरिन्छ ।
जन्तीको खानाको बन्दोबस्त भने बारीको ठूलो पाटामा गरिएको हुन्थ्यो । बारीका पाटामा चिर्पट दाउराको बस्ने पिरा बनाइएको हुन्थ्यो । भात पकाएर मान्द्रामा राखी डालोमा हालेर बाँडिन्थ्यो । सबैलाई दुनाटपरीमा पहिले भात र त्यसपछि बाल्टिनबाट डाडुले दाल तरकारीबोडी , घिउअचार, दही जस्ता परिकारहरू बाँडिन्थ्यो । पकाउने भान्से सबैले धोती फेरेका हुन्थे । धोती फेर्ने र नफेर्नेको बस्ने स्थान अलग अलग हुन्थ्यो । छोरीको विवाहमा मासु खुवाउने चलन प्रायः छँदै थिएन भने पनि हुन्छ । खानापछि जन्तीका लागि बिँढीचुरोट सुपारी पनि बाँडिने गरिन्थ्यो । त्यसबेला धुमपान नगर्ने बिरलै हुन्थे । टपरीमा खाना खाँदा ढिलो गर्यो भने दाल सबै चुहिने हुँदा सबैलाई फटाफट खान कर लाग्दथ्यो ।
जग्गे यज्ञ को कार्य सुरु भएपछि जन्ती र घरगाउँले बीच सिलोक भन्ने प्रतिस्पर्धा चल्दथ्यो । जन्तीहरूमा सिलोकेहरूको विशेष स्थान हुन्थ्यो । दुवै पक्षबीच अन्त्यहीन प्रतिस्पर्धा हुन्थ्यो । निर्णायक मण्डलको आवश्यकता महसुस हुँदैनथ्यो । यो सिलोक भन्ने चलन जन्तीलाई मनोरञ्जन र रातभरि व्यस्त राख्ने प्रपञ्च पनि थियो । सबै जन्तीलाई सुताउने व्यवस्था हुन नसक्ने हुँदा यस्तै मनोरञ्जनका कार्य हुने गर्दथे । वास्तवमा यी सिलोके प्रथाले नै हाल विकसित दोहोरी गीतलाई मार्गदर्शन गरेको हो भन्न सकिन्छ ।
जग्गेमा केटाकेटीको खुट्टा धुने कार्य सम्पन्न भएपछि कन्यादानको कार्यक्रम हुन्थ्यो । यसको विधि निकै लामो छ । कन्यादानपश्चात् बेहुलीको गोत्र परिवर्तन भई वरको घरबाट ल्याएका वस्त्र गहना लगाई जग्गेमा लगिन्थ्यो । केटापट्टिबाट ल्याइएका कपडा र गहना हेर्न विशेषगरी महिलाहरूलाई निकै चासो हुन्थ्यो । हुनेले राम्रै गरी गहना लगेका हुन्थे भने कतिले त अरुका गहना मागेर पनि लैजाने गर्दथे । गहना हेरेर मागेर ल्याएको होइन नि भन्ने प्रश्न पनि आउँथ्यो ।
ब्राह्मण क्षेत्रीको विवाह पद्धति अनुसार गर्दा निकै समय लाग्दछ । यो पद्धतिमा मनोरञ्जन, प्रतिज्ञा, पतिपत्नीको कर्तव्य र भविष्यमा निर्वाह गर्नुपर्ने भूमिका जस्ता विषयमा प्रकाश पारिएको हुन्छ । विवाह पद्धतिमा सप्तपदीलाई विशेष रूपमा महत्त्व दिइएको छ । जसअनुसार वरवधू दुवैले सुखदुःखमा साथ दिने, मानसिक शारीरिक र आध्यात्मिक स्वास्थ्यका लागि आशीर्वादको याचना गर्ने, समस्या आइपरेमा मिलेर समाधान गर्ने, खुसी र सम्पन्न जीवनका लागि मिलेर प्रयास गर्ने, आपसमा प्रेम सद्भाव राखी एकअर्काको विचार र चाहनालाई सम्मान गर्ने, पारिवारिक मेलमिलाप कायम गर्न क्रियाशील हुने, स्वस्थ सबल र योग्य सन्तान हुन सकून् भनी प्रार्थना गर्ने मृत्युपर्यन्त पृथक् नहुने जस्ता प्रण कबुल र शपथका वाक्यहरू सप्तपदीमा परेका हुन्छन् । अग्निलाई साक्षी राखेर शपथ खाएपछि उल्लङ्घन गर्नु हुँदैन भन्ने धार्मिक वाक्य हुन्थ्यो । यसको पालना गर्ने र नगर्ने धेरै हुने गर्दथे ।
बिहेमा खाँडो जगाउने विधि पनि आउँछ । वास्तवमा यो खड्ग पूजन हो । खाँडोमा राजा महाराजाको प्रशस्ति गाइन्छ र कुइरेलाई गाली गरिन्छ । कुइरेको टाउको ट्वाक्क भनेर खड्ग देखाउने गरिन्छ । यो प्रथा नेपाल(अङ्ग्रेज युद्ध सन् १८१४,१६ पश्चात् प्रचलनमा आयो । यसबाट तत्कालीन समाजको अङ्ग्रेजप्रतिको धारणा र घृणाभावलाई बुझ्न सकिन्छ ।
सिन्दुर हाल्ने, मङ्गलसूत्र लगाउने, मह खुवाउने, ठाउँ सार्ने, पासा खेल्ने जस्ता विधिहरूले सबैको ध्यान खिचेको देखिन्थ्यो । विवाहपद्धतिकै बीचमा दुलहालाई दुलहीका परिवार र आफन्तलाई परिचय गराउने विधि पनि आउँथ्यो । विवाह पद्धति शास्त्रीय विधिअनुसार गर्नेरगराउने हो भने रातभरि नै लाग्दछ तर आजकल एक दुई घण्टामा नै सबै विधि सक्ने कर्मले सर्वाधिक प्राथमिकता पाउन थालेको छ । विवाह पद्धतिमा उल्लेख गरिएका कुराहरू राम्ररी बुझाउने हो भने त्यसमा दर्शन, परिवारको महत्त्व, विवाहपछि गर्ने दायित्व जस्ता धेरै कुरा व्यावहारिक र आध्यात्मिक व्याख्या पाइन्छ ।
वैवाहिक कार्यक्रमको अन्त्यतिर अभिषेक हुन थालेपछि बिहेघरको रमाइलो वातावरणबाट एन्टी क्लाइमेक्स आउँछ । दुलही बिदा गर्ने समयमा हाँस्ने रमाइलो गर्ने गरिरहेका महिला तथा वृद्धाहरूको अश्रुधाराले सबैको मन विरही हुन्छ, दुलहीको त झन कुरै भएन । दुलही रोएको देखेर कति दुलाहाले मन थाम्न नसकेका घटना पनि हुन्थे । दुलहीलाई अन्माएपछि डोली तामदानमा राखेर जन्ती बिदा गरी बिदावारी भई हिँड्दथे । दुलहीको हेरचाह गर्ने साथीको रूपमा एकजना लोकन्ती साथ लगाउने चलन थियो, उनको काम दुलहीलाई शौचालय लिएर जाने, खुवाउन र मन बहलाउने हुन्थ्यो ।
दुलही पक्षले दाल, चामल, तरकारी र जन्तेबाख्रो खसी दिएका हुन्थे । बाटोको भोजनका लागि जन्तीहरूले बाटामा पानी भएको पायक पर्ने ठाउँमा खसी काटी खाना बनाउँथे । जन्तीको संख्या हेरीकन मासुमा पानी र खुर्सानीको मात्रा मिलाइन्थ्यो । बाटोमा दुलहीलाई जिस्क्याउनेले अनेक कार्य गर्दथे । के गर्नु नानी सौतामाथि पर्यौ, जानाजानी किन विवाह गरेको, केटा तन्नम छ भन्ने जस्ता कुरा गरी पत्याउने गरी अत्याउने जमात पनि हुन्थ्यो । यस्तोमा लोकन्तीले बेहुलीलाई थामथुम गरी ढाडस दिने काम गर्दथे ।
बेहुलाको घर पुगेपछि अर्तीस्याली गर्ने, सासुबुहारीको चुल्ठो जोर्ने, पाथी भर्ने, भण्डार देखाउने गरी अर्को दिन चतुर्थी गरेर विवाह संस्कार पूरा गरिन्थ्यो । कतै कतै बुहारीद्वारा खाना बनाई खुवाउने गरिन्थ्यो । जसलाई बहुभतेर भन्ने चलन थियो । दुलहीलाई घर भित्र्याएको दुई तीन दिनपछि साइत हेरी माइत पठाइन्थ्यो, दुलहाको साथमा । यसरी दुलहीलार्इ माइत पठाउँदा लोकन्ती पनि दुलहीसँगै फर्कने र दुलहाका साथीका रूपमा चाहिँ कड्काल पठाउने चलन थियो । यसरी बुहारी पठाउँदा कोसेलीपातसहित भरिया लगाएर नै पठाउने गरेको देखिन्थ्यो । यसैगरी दुलही छोरीलाई माइतबाट घर पठाउँदा मैतालु पठाउने भनिन्थ्यो । जसमा थुन्सेमा सेल, अनरसा, अर्सा, कसार आदि नातो लगाएर पठाउने, कुराउनी, छोपका अचार, केटाको घरमा ढोगभेट गर्ने लुगाकपडा, दक्षिणा दिइन्थ्यो । मैतालु कसरी आइन् र केके ल्याइन् भन्ने चासो देखिन्थ्यो । मैतालु आएपछि विवाहको सबै संस्कार सकिन्थ्यो । यसपछि विवाहको एउटा अध्याय समाप्त भई अर्को सुरु हुन्थ्यो ।
विगतको बिहेको चलनबाट हामीलार्इ तत्कालीन समयका विविध पक्ष विश्लेषण गर्न धेरै खुराक मिल्दछ । सामाजिक शास्त्रका अनुसन्धानकर्ताहरूलाई विगतमा चलन किन चल्यो रु किन हराउँदै गयो उक्त विवाहबाट त्यसबेलाको ग्रामीण समाजको रहनसहन खानपिन मनोरञ्जन गर्ने तरिका आदि इत्यादि कुरा बुझ्न सकिन्छ । ती महत्त्वपूर्ण सूत्रहरूबाट प्रवाहित सूचनाका आधारमा समाजशास्त्रीय अध्ययन हुनु अपेक्षित छ ।
कड्काल, लोकन्ती, जनैसुपारी दिने, भतखराउ, पत्र पठाउने जस्ता चलनले धेरै कुराको उद्घाटन गरेको छ । केटाकेटीको सानै उमेरमा विवाह गर्ने हुँदा कड्काल र लोकन्ती पठाउने गरिएको हो । हाल केटाकेटी दुवै परिपक्व र कुरा बुझ्ने वयस्क हुने हुँदा त्यस्ता पात्र कबाफमा हड्डी हुने हुँदा पनि यो चलन हराउँदै गएको हुनुपर्छ । हिजो हिउँदमा सबैको फुर्सद हुने हुँदा सोही समयमा विवाह हुने गर्दथ्यो । आज परिस्थिति बेग्लै छ । अब त विशेष लगन नै चाहिँदैन । कार्तिक, पौष, श्रावण, भाद्रमा पनि विवाह हुने गरेकै छन् । हिजोको विवाहमा संस्कार पालनालाई सर्वाधिक महत्त्व दिइन्थ्यो भने आज विवाह मनोरञ्जन, फोटो सेसन र मिलन समारोह हुन पुगेको छ । विवाहमा हिजोको चलन हटेर आज मेहन्दी सङ्गीत जस्ता कार्यक्रम हुने गरेको छ । पञ्चेबाजाको चलन त झन्डै हराइसकेकोमा हाल उक्त बाजाले पुनः प्रश्रय पाउन थालेको छ । धोती फेरेर बारीमा दालभात खाने चलन पूर्णरूपमा हटिसक्यो, जुन हिजो सम्भव थियो तर आज व्यवस्थापन गर्नै सकिँदैन । हिजो पर्दाका जन्ती मर्दाका मलामी भन्ने मान्यताले प्राथमिकता पाउन छाडेको छ । विगतलाई बुझ्न यस्ता संस्कार उपयोगी त छँदै छन् । त्यसमाथि नयाँ पुस्ताका लागि एकादेशको कथा पनि लाग्न सक्छ । अस्तु


















